काठमाडौं, कार्तिक ५ - बाराको जंगलमा बस्दै आएका तपस्वी राम बम्जन प्रधानमन्त्री सुशील कोइराला भेट्न बुधबार साँझ बालुवाटार पुगेका छन् ।

बाराको हलखोरियास्थित जंगलमा बस्दै आएका बम्जनले आफू सर्वधर्म मार्गबाट सम्पूर्ण जगत प्राणीको कल्याण, मुक्ति र मोक्षको लागि अघि बढिरहेको बताए । उनले नेपाल लगायत विश्वमै शान्ति, अमन चयन र स्थायित्वको भावनासाथ धार्मिक यात्रामा रहेको उल्लेख गरे ।
धर्मगुरु बम्जनले ६ वर्षसम्म तपस्या गरी ज्ञान प्राप्त गरेको स्थल बारा हलखोरियास्थित जंगललाई धार्मिक वन घोषणा गरी संरक्षण गर्न प्रधानमन्त्रीसमक्ष माग गरे । प्रधानमन्त्री कोइरालाले सम्बन्धित निकायसँग सल्लाह गरी सो वनलाई धार्मिक वन घोषणा तथा संरक्षण गर्ने आश्वासन दिए ।
धर्मगुरु बम्जनले बुधबार नै परराष्ट्र मन्त्रालय गएर राहदानी लिए । उनले रामलाल बम्जनको नामबाट राहादानी लिएका छन् । बम्जनलाई राहादानी विभागका महानिर्देशक लोकबहादुर थापाले राहदानी प्रदान गरे ।
धर्मगरु बम्जन बुधबार नै बाराको हलखोरियास्थित तपस्यास्थल फर्केका छन् । ६ वर्षसम्म निराहार निर्जल तपस्यसकेपछि बोधी श्रवण धर्मसंघ गुरु रामलाल बम्जन हाल विश्व शान्ति मैत्रीय पूजाकासाथै धर्मादेशनाको लागि विभिन्न क्षेत्रको भ्रमण गर्दै आएका छन् ।
Comments[ 0 ]
Post a Comment