
काठमाडौं : सत्रौं एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रका लागि एकमात्र कांस्य पदक जित्ने कराँते खेलाडी विमला तामाङले त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएकी छन्। बालाजु कराँते डो एकेडेमीबाट खेल्दै आएकी विमलाले आगामी दिनमा आर्मी क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने गरी सोमबार सम्झौता भएको छ।
सम्झौतापत्रमा आर्मी क्लबका तर्फबाट प्रमुख सेनानी प्रकाशजंग कार्की र एकेडेमीका तर्फबाट प्रशिक्षक ध्रुवविक्रम मल्लले हस्ताक्षर गरे। सम्झौताअनुसार विमलाले नियमित अभ्यास बालाजु एकेडेमीबाट नै गर्नेछिन्। आर्मी क्लबले उनलाई आगामी कात्तिक महिनादेखि लागू हुने गरी मासिक १० हजार रुपैयाँ प्रदान गर्नेछ। करारमा नियुक्ति भएकी उनले आर्मी क्लबबाट प्रतियोगिता मात्र खेल्नेछिन्।
सम्झौताअनुसार उनले आफ्नो इच्छाले आर्मी क्लब छाड्न समेत सक्नेछिन्। आर्मी क्लबसँगको सम्झौताले आफूलाई जीवन यापनका लागि सजिलो हुने विमलाले बताइन्। 'विभागीय टोलीबाट खेल्दा छनोटका लागि जिल्ला र क्षेत्रीय प्रतियोगितामा भाग लिन पर्दैन। गुरु ध्रुवविक्रम मल्ले ठिकै हुन्छ भनेपछि यस्तो निर्णय लिएकी हुँ', विमलाले अन्नपूर्णसँग भनिन्।
आर्मी क्लबसँगको सम्झौताले विमलाको खेलमा सुधार आउने र विभिन्न प्रतियोगितामा सहभागिताबाट वञ्चित हुन नपर्ने भएकाले विमलाको हितका लागि यस्तो प्रक्रिया अपनाइएको मल्लले बताए। धादिङ सेमजोङ स्थायी घर भएकी १८ वर्षीया विमला हाल राजधानीको रेडन कलेजमा १२ कक्षामा अध्ययनरत छिन्।
छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता विमलाले सन् २०१२ मा युएईमा सम्पन्न एसियन कराँते च्याम्पियनसिपको कातामा स्वर्ण र सोही वर्ष मलेसियामा सम्पन्न विश्व कराँते च्याम्पियनसिपमा दुईवटा कांस्य पदक जितेकी थिइन्।
राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका आधारमा नेपाल कराँते महासंघमा विवाद देखिएका कारण एसियाडमा विमलाको सहभागिता पनि विवादित बनेको थियो। विमलालाई अन्तर्राष्ट्रिय कराँते महासंघको पहलमा अन्तिम समयमा आएर एसियाडमा खेल्ने अवसर दिइएको थियो।
|
|
Comments[ 0 ]
Post a Comment