काठमाडौं, ३० असोज । दक्षिण कोरियामा रोजगारीको मिठो सपना बुनेर इपीएस परीक्षामा सहभागी भएकामध्यै ५५ हजारभन्दा बढी फेल भएका छन्।

असोज १० र ११ गते संचालन भएको भाषा परीक्षामा ५८ हजार ७ सय ७० जनाले २४ अमेरिकी डलरवापतको रकम (झण्डै दुई हजार चार सय रुपैयाँ) तिरेर आवेदन भरेका थिए। आवेदन फारामबाट मात्रै १४ लाख १० हजार ४ सय ८० डलर बराबरको रकम (लगभग १४ करोड १० लाख ४८ हजार रुपैयाँ) संकलन भएको थियो।

आवेदन भर्नेमध्ये ५८ हजार ७ सय ७० जनाले मात्र परीक्षा दिएका थिए। ती मध्ये तिन हजार चार सय ६३ जना पुरुष र दुई सय महिला मात्र पास भएका हुन्।
आवेदन दिनेहरुले परीक्षा शुल्कबाहेक कोरियाली भाषा सिक्ने कक्षाका लागि पनि खर्च गरेका हुन्छन्। यसको लागि लगभग सात हजार रुपैयाँ लाग्छ।
पास भएका मध्ये दुई हजार सात सय ६८ जना उत्पादनमूलक क्षेत्र (म्यानुफ्याक्चरिङ) र बाँकी आठ सय ९५ जना कृषि क्षेत्रका लागि छनौट भएका हुन्। पास भएकाहरु पनि सबै कोरिया जान पाउने हुँदैनन्। उनीहरुले अझै दुई सय ५० नम्बरको स्किल टेस्ट दिएर त्यसमा पनि पास हुनु पर्नेछ।
स्वास्थ्य परीक्षण तथा स्किल टेस्टमा पास भएकाहरु बल्ल सन् २०१५ को जनवरी वा फेब्रुअरीमा रोजगारीका लागि दक्षिण कोरिया जान पाउँछन्।
Comments[ 0 ]
Post a Comment