उपाधि बोकेर फर्कियो क्रिकेट टोली, प्रशिक्षकले के भने ?
काठमाडौं, कार्तिक १४ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को उपाधि विजेता नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामा, खेलकुद मन्त्रालयका सहसचिव चुणामणि पौडेललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई स्वागत गरेका थिए ।
मलेसियामा भएको प्रतियोगिताको फाइनलमा अफ्रिकी प्रतिद्धन्द्धी युगान्डालाई ६२ रनले हराएर च्याम्पिएन बनेको नेपाली टोली दोस्रो पटक उपाधि बोकेर नेपाल भित्रिएको हो ।
विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले अबको केही महिना नेपाली क्रिकेटको लागि निर्णायक हुने प्रतिक्रिया दिए । सबै ध्यान जनवरीमा हुने डिभिजन ‘टु’मा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
नेपाली टोलीले आफ्नो वास्तविक खेल प्रदर्शन गरेको बताउँदै प्रशिक्षक पुबुदु दासानायकले डिभिजन ‘टु’ खेल्न जानुपूर्व केही सुधार आवश्यक रहेको प्रतिक्रिया दिए ।
यसअघि सन् २०१३ मा बर्मुडामा भएको फाइनलमा युगान्डालाई नै ५ विकेटले हराउँदै नेपाल पहिलो पटक डिभिजन ‘टु’मा उक्लिएको थियो ।
त्यही वर्ष विश्वकप छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेपछि नेपाल फेरि डिभिजन ‘थ्री’मै झरेको थियो । यो पटक डिभिजन ‘टु’प्रतियोगिता आगामी जनवरी १७ तारिखबाट नामिबियामा हुनेछ ।
उक्त प्रतियोगितामा नेपाल र युगान्डासहित केन्या, नामिबिया, नेदरल्यान्ड्स र क्यानडा सहभागी हुनेछन् ।
|
|
Comments[ 0 ]
Post a Comment