धादिङ : आफ्नै बुवाले जुम्ल्याहा छोरालाई घरभित्र थुनेर घरमा आगो लगाएर घाइते बनाएपछि २ नाति च्यापेर उपचार र सहयोग खोज्दै बालकका हजुरबुवा धादिङवेशी आइपुगेका छन्।

धादिङको नलाङ गाउँ विकास समिति वडा नं ६ बैरेनी, पहरेका ७० वर्षीय चक्र बहादुर विश्वकर्मा आफ्ना दुई नातिको उपचार र सहयोग खोज्दै सदरमुकाम धादिङवेशी आइपुगेका हुन्।
केही दिनअघि रक्सी खाएर मातेको बेलामा आफ्ना जुम्ल्याहा छोरा राम विश्वकर्मा र लक्ष्मण विश्वकर्मालाई घरभित्र थुनेर बलराम वि. क ले घरमा आगो लगाएको बालकका हजुरबुबा चक्रबहादुर विश्वकर्माले बताए। उनले भने, 'आफ्नै बाउ अधर्मी भएपछि कसको के लाग्दो रहेछ र, रक्सी खाएर मातेको बेलामा बच्चाहरूलाई घरभित्र थुनेर घरमा आगो लगायो, त्यतिखेरै देखेर बच्चालाई बाहिर निकाल्न त भ्यायौँ तर एउटा नातिको पाखुरा र टाउको आगोले जलाउन भ्याइहाल्यो।'
आगोले पोलेर लक्ष्मण विश्वकर्माको हात, पाखुरा, कुम र टाउको नराम्रोसँग जलेको छ। आफुसँग भएको पैसाले सामान्य उपचार गरेको र थप उपचारको लागि सहयोग खोज्दै सदरमुकाम आएको चक्रबहादुरले बताए।
बालकका आमालाई पनि बलरामले सधै रक्सी खाएर कुटपिट गर्ने गरेकाले उनले पनि नानीहरूलाई अलपत्र छाडेर अन्यत्र गएकी छिन।
'बलराम सधैं रक्सीले मातेर घर आएर श्रीमतीलाई कुट्ने गर्दथ्यो। श्रीमानको सधैको अत्याचार र कुटपिट सहन नसकेर यी बच्चाका आमा पनि नानीहरूलाई अलपत्र छोडेर हिंडिन। गाउँलेले हेटौडातिर गिटि कुटेर बसेकी छ भन्छन् तर सम्पर्कमा आएको छैन।' चक्रबहादुरले आँखा रसिलो पार्दै सुनाए, 'घरमा यी बच्चाको स्याहार सुसार गर्ने कोही छैनन, आफु बुढो भएँ केही गर्न सक्दिन।'
नातिको उपचार र सहयोग खोज्दै महिला तथा बालबालिका कार्यलय आइपुगेका उनीहरूलाई लक्ष्मण विश्वकर्माको उपचार र खानपिनको लागि भनेर जिल्ला बाल कल्याण समितिको तर्फबाट तत्कालको लागि ५ हजार रूपैयाँ दिइएको महिला तथा बालबालिका अधिकृत भुला भण्डारीले जानकारी दिइन।
अहिले जिल्ला बाल कल्याण समितिको रोहवरमा रहेका बच्चालाई उद्धारको लागि पहल सुरु गरिएको बाल कल्याण अधिकृत हरी उप्रतीले बताए।
उनले भने 'आफ्नै बाबुले आगो लगाएर हत्या प्रयास गरेको र आमा पनि नभएकाले र पालपोषण गर्ने कोही नभएपछि अब नानीहरूलाई बालगृहको जिम्मा लगाउने भएका छौ, त्यसका लागि कोटा खाली भएका बालगृहको खोजी भइरहेकाले १०/१५ दिनभित्रै हामी नानीहरूलाई बालगृहको जिम्मा लगाउछौ।'
|
|
Comments[ 0 ]
Post a Comment