
दीपेन्द्र दोङ तामाङ ।
तपाई जापानको टोक्यो बस्नुहुन्छ र हातमा स्मार्ट फोन बोक्नुहुन्छ भने तपाईले यी ६ वटा मोबाइल एप्सहरु डाउनलोड गर्न नछुटाउँनुहोला । किनभने यी एप्सहरु यति कामलाग्दा छन् कि यसले तपाईको टोक्यो बसाइलाई निकै सहज बनाउँनेछ । यी एप्सहरुले टुरिष्ट गाइडदेखि भाषा अनुवादसम्मको काममा तपाईलाई मद्दत गर्छ ।
१. गुड नाइट टोक्यो : जापान भनेकै कामको लागि हो । किनभने यहाँको जीवनशैली यति महँगो छ कि काम र आम्दानी विनाको जीवनको परिकल्पना नै गर्न सकिन्न । त्यसैले अक्सर दिनभरि साताको ५ दिन काममै व्यस्त रहनुपर्छ । यसरी व्यस्तताले थकित तन मनलाई स्फूर्ति प्रदान गर्न नाइटलाइफ एउटा विकल्प हो । त्यसका लागि गुड नाइट टोक्यो एप्स तपाईको लागि सहयोगी बन्न सक्छ । यसले टोक्योमा रहेका नाइटलाइफ सेन्टरहरु जस्तै रेष्टुराँ,फिल्म हल, त्यसको लोकेशन,खुल्ने र बन्द हुने समय,मेनु र मूल्य लगायतका सम्पूर्ण जानकारी तपाईको औंलाको इशारामा दिन्छ ।
२.टोक्यो अनसेन म्याप : अनसेन प्रेमीहरुलाई ध्यानमा राखेर तयार पारिएको यो मोबाइल एप्सले टोक्योमा रहेका अनसेन अर्थात नुहाउँने थलोहरुको बारेमा पूर्ण जानकारी दिन्छ । यसले यति छिटो काम गर्छ कि तपाईले चाहेको जानकारी ३ सेकेण्डभित्र यसले दिइसक्छ ।
३.सुसी : सुसी परम्परागत र अत्यन्त लोकप्रिय जापानी खाना हो । त्यसैले टोक्यो पुगिसकेपछि अथवा टोक्योमै बसेपछि सुसी खान र बनाउँन नचाहने कमै होला । त्यसका लागि सुसी एप्सको सहयोग अवश्य लिनुहोला । यसले टोक्योमा सुसी कहाँ कहाँ खान पाइन्छ ? भन्ने जानकारी त दिन्छ नै साथमा सुसी घरमै कसरी तयार पार्ने र के के सामाग्री आवश्यक पर्छ भन्ने पनि सिकाउँछ यसले । त्यसैले यो एप्स सुसी खाना जत्तिकै लोकप्रिय हुँदैछ टोक्योमा ।
४.टोक्यो आर्ट विट : तपाई कलाको पारखी हुनुहुन्छ भने यो एप्स कामलाग्छ । किनभने यसले टोक्योमा रहेका आर्ट ग्यालरीहरुको लोकेशन,खुल्ने समय,त्यहाँ पुग्ने रुट लगायतका सम्पूर्ण जानकारी दिन्छ ।
५.वेगो : जापान यस्तो देश हो जहाँका मान्छेहरु कमै मात्र अँग्रेजी बुझ्छन् । बुझेकाहरुले पनि कम मात्र प्रयोग गर्छन् । त्यसैले जापान पुग्ने जोकोहीले पनि जापानी भाषा र लिपि नबुझि सुखै छैन । उदाहरणका लागि तपाई टोक्योको कुनै ठाउँ जानुहोस् त्यहाँ तपाईले विभिन्न साइनबोर्डहरु झुण्डिएको देख्नुहुन्छ तर ती सबै जापानी भाषामै हुन्छन् ।
जापानी भाषा र लिपि नबुझेपछि त्यसमा के लेखिएको छ,कसरी थाहा पाउँने ? त्यस्तोमा रेष्टुराँ ठानेर पस्दा ट्वाइलेट र ट्वाइलेट भनेर पसेको ठाउँ रेष्टुराँ नपर्ला भन्न सकिन्न । यसका लागि वेगो एप्स अवश्य प्रयोग गर्नुहोला । यो विदेशी नागरिकहरुका लागि वरदान नै हो । यसले जापानीमा लेखिएको कुरालाई अँग्रेजीमा अनुवाद गरिदिन्छ ।
त्यो पनि जापानी उच्चारण सहित । यो प्रयोग गर्न पनि सजिलो छ । कुनै साइनबोर्डमा लेखिएको कुरा तपाईलाई बुझ्नुछ भने आफ्नो मोबाइल फोन त्यो साइनबोर्डतिर फर्काउँनुहोस् र वेगो एप्समा रहेको क्यामेरालाई त्यो बोर्डमा रहेको जापानी अक्षर पढ्न दिनुहोस् । त्यसपछि तपाईको फोनले त्यसलाई तुरुन्त अनुवाद गरिदिन्छ । जस्तो त्यसमा सोमेन भनेर लेखिएको रहेछ भने तपाईको फोनले थिन चाउमिन भनेर अनुवाद गरिदिन्छ । जापानमा अहिले यो एप्सको क्रेज निकै बढेको छ ।
६. क्वीची : यो एप्स चाहिं रेष्टुराँ र बारका शौखिनहरुका लागि हो । किनभने यसले टोक्योमा रहेका रेष्टुराँ र बारहरुको सम्पूर्ण जानकारी दिन्छ । कुन रेष्टुराँ र बारमा के के पाइन्छ ? कति महँगो छ,कुन स्थानमा छ भनेर यसले सजिलै बताइदिन्छ ।
त्यसैले प्रविधिको यो समयमा आफूलाई एक्लो,विरानो र कमजोर कहिल्यै नसोच्नुहोला । किनभने हाम्रो एक इशारामा संसारलाई हाम्रो अगाडि पाउँने बेला हो यो ।
source: sahayatri.com
|
|
Comments[ 0 ]
Post a Comment