फोटो :अन्नपूर्ण (तीन टुक्रा भएको कपिलवस्तुको पिपरा गाविस तुल्सीडिहवामा रहेको सीमास्तम्भ।)
कपिलवस्तु : नेपाल-भारत दसगजा क्षेत्रअन्तर्गत कपिलवस्तुको पिपरा गाविस तुल्सीडिहवामा रहेको सीमास्तम्भ ४७।५५२ नम्बरको पिलर आइतबार ढलेको अवस्थामा भेटिएको छ। भारतले दसगजानजिकै निर्माण गरेको इन्डो-नेपाल बोर्डर सडक तथा बजाहासागर बाँधका कारण उक्त क्षेत्र डुबानमा छ।

सीमास्तम्भ बजाहासागर तालको बीचमा रहेको छ। दुई दिनअघिसम्म दुवै देशका सीमावर्ती अधिकारीले सही हालतमा रहेको रिपोर्ट दिएको उक्त पिलर लडेर तीन टुक्रा भएको अवस्थामा छ। ढलेर टुक्राटुक्रा भएको सीमास्तम्भ हेर्न जानेको भीड लागेको छ।
प्राकृतिक रूपमा नभई उक्त पिलरलाई बलपूर्वक ढलाएर र टुक्रा गरिएको आशंका सीमा क्षेत्रमा बस्ने स्थानीयको छ। यसैगरी कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको सीमास्तम्भ जंगी पिलर ४६ हर्रा नदीको कटानबाट लडेको छ। त्यही ठाउँमा अर्को एक सहायक पिलर पनि हराएको छ।

सीमासुरक्षा कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मधुकृष्ण गड्तौलाले पिलर ढलेको भेटिएको र यसबारेमा सम्बन्धित निकायलाई जानकारी गराइएको बताए। उनले भने, 'ढलेको जानकारी गराएका छौं। यहाँ हामीले केही गर्ने कुरा हुँदैन। माथिबाट निर्देशन र टोली आएर हेर्ने हो। यसलाई बनाउने कि ठडाउने हो, माथिबाट आउने टोलीले गर्नेछ।'
यसैगरी सीमानजिक भारतबाट निर्मित महलीसागर बाँध, बजाहासागर र मर्थीसागर बाँध तथा मानवीय अतिक्रमणबाट पाँचवटा साना सीमास्तम्भ हराएका छन्। यसबारेमा स्थानीय प्रशासनलाई स्थानीयले पटकपटक अवगत गराएको सागर बाँध नजिकका झगेरु यादवले बताए।

नेपाल-भारत सीमावर्ती कपिलवस्तु जिल्ला क्षेत्रमा ४५ जंगी पिलर, दुई सय १३ मझौला र दुई सय ७६ सहायक सीमास्तम्भ रहेका छन्। हालै भारत बलरामपुर र कपिलवस्तु जिल्लाका सीमा अधिकारीको कपिलवस्तुको तौलिहवामा सम्पन्न सीमासुरक्षा बैठकमा जीर्ण भएका तथा हराएका सीमास्तम्भको खोजी तथा संरक्षणका लागि भारत-नेपाल पक्षबीच समझदारी गरेको कार्यवाहक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए।
भारतीय पक्षले दसगजा क्षेत्र अतिक्रमण गरी सुरक्षा पोस्ट् खडा गर्ने कार्य गर्दै आएको भन्दै स्थानीयले प्रशासनसमक्ष उजुरी दिंदै आएका छन्। बढनी, चाकरचौडा क्षेत्रमा भारतीय सीमासुरक्षा बलले दसगजा क्षेत्रमा नै अस्थायी पोस्ट् खडा गरेको छ। दसगजा कुल १८.२ मिटर हुनुपर्नेमा भारतीय पक्षले दसगजा क्षेत्रको ९.१ मिटर पूरै अतिक्रमण गरेको दाबी स्थानीय बासिन्दाको छ।
यसबारेमा बुझ्न खोज्दा कार्यवाहक प्रमुख जिल्ला अधिकारी खड्काले केही बताउन चाहेनन्। दसगजा क्षेत्रमा नेपालतर्फका स्थानीयले पनि अतिक्रमण गरी घर, गोठ बनाउने, खेतीबाली उत्पादन गर्ने, बाटोको रूपमा प्रयोग गर्ने क्रम बढ्दै गएको छ।
- See more at: http://annapurnapost.com/News.aspx/story/771#sthash.Q2z9mTY7.5UfVTggP.dpuf
|
|
nepal lai bharatle hepeko ho aru kehi pani hoina
ReplyDelete