
● सन्तोष न्यौपाने / रामहरि लामिछाने, पोर्चुगल
मासिक १२०० युरो कमाइसहितको युरोप बसाइँको लोभमा रु.१२ लाख तिरेका ६० भन्दा बढी नेपाली युवकले पोर्चुगल टेक्नासाथ हरिबिजोगको सामना गर्नुपर्यो । राजधानी लिस्बनको विमानस्थलबाट उनीहरूलाई जंगलै जंगल निकै टाढाको गाउँमा लगेर राखियो । “चिसो ठाउँमा ओढ्ने–ओछ्याउने विना भोकभोकै रात काट्नुपर्यो”, तीमध्ये एक मोरङका प्रेमकुमार थापा भन्छन्, “युरोप आएर धेरै कमाउने सपना यहाँको वास्तविकतासँग ठोक्किएर चकनाचूर भएको छ ।”
कृषि क्षेत्रमा काम गर्न सरकारबाटै श्रम स्वीकृति लिएर आएका उनीहरू अहिले पोर्चुगलमा फँसेको दुःखमनाउ गरेर बसेका छन् । सिनामंगल, काठमाडौंमा कार्यालय रहेको एलाइन्स ह्युमन रिसोर्स म्यानपावरलाई रु.१० लाखदेखि रु.१२ लाखसम्म बुझाएका उनीहरू सन् २०१२ को अप्रिल र सेप्टेम्बरमा पोर्चुगल आइपुगेका थिए । म्यानपावर कम्पनीसँग भएका सेवा, शर्त र सुविधाका सम्झौता न्यूनतम रूपमा पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ । म्यानपावर कम्पनीले खानाको व्यवस्था कम्पनीबाटै हुने भनेकोमा अहिलेसम्म त्यो लागू भएको छैन । ४०० युरो पनि नपुग्ने तलबबाट ११ प्रतिशत कर तिर्नुपरेको एक युवकले बताए ।
“एलाइन्सका सञ्चालक सुजित श्रेष्ठले बस्नलाई प्रत्येक कामदारलाई छुट्टै कोठाको व्यवस्था हुने र ओभरटाइम समेत गर्दा मासिक १२०० युरो कमाइ हुने विश्वास दिलाएका थिए”, ती युवक भन्छन्, “तर, अहिले एउटै कोठामा १२–१३ जना कोचिएर बसेका छौं, बिरामी हुँदा उपचारको व्यवस्था पनि छैन ।” तीमध्येका दुर्गा पाण्डेले आलु मात्र खाएर बस्नुपरेको पीडा सुनाए । नेपालमा एउटा कम्पनीमा काम गर्ने भनेर पोर्चुगलमा पहिला नामै नसुनेको कम्पनीमा काम लगाएको बताए । “म्यानपावरले हामीलाई भेडा झैं बेचेछ”, पाण्डेले भने । भिसाका निम्ति अन्तर्वार्ता दिन भारतको दिल्लीस्थित पोर्चुगलको दूतावासमा लैजाँदा उनीहरूलाई म्यानपावर कम्पनीले ‘रु.६०–६५ हजार मात्र तिरेको’ भन्न लगाएका थिए ।
पत्रपत्रिकामा विज्ञापन गर्दा मासिक तलब रु.५२ हजार हुने सूचना भनेको म्यानपावरले जम्मा लागत रु.६०–६५ हजार भन्न लगाएर शुरूमै चलाखी गरेको थियो । त्यो देख्दादेख्दै पनि उनीहरू त्यत्रो बुझाएर उडेका थिए । तीमध्येका एक कामदार भन्छन्, “केही न केही होला भनेर हिंडेको, यहाँ आएर वास्तविकता थाहा भयो ।
” म्यानपावर कम्पनीले कतिसम्म झुटको खेती गरयो भने भिसाका लागि उसले ‘मितिर्सुल’ र ‘मसिल–फरुतास’ नामका कम्पनीको कागजात देखायो अनि पोर्चुगल पुगेपछि ‘मार्जिन प्रिन्सिपल’ नामको कम्पनीमा पठायो ।
म्यानपावरले ‘मितिर्सुल’ र ‘मसिल–फरुतास’ का कागजात अध्यागमन विभागमा देखाएपछि जहाजमा च्यातेर फाल्न वा लुकाएर राख्न अह्राएको थियो, जसलाई कामदारहरूले तामेल गरे । पाण्डे भन्छन्, “भनेको कम्पनीमा काम किन लगाएनौ भनेर सोध्दा म्यानपावरले जता गरे पनि कामै हो भन्यो ।”‘मार्जिन प्रिन्सिपल’ इजरायली नागरिक अरोन रोनी बर्गिगकी श्रीमती ओश्रातको नाममा सन् २००८ मा पोर्चुगलमा दर्ता भएको कम्पनी हो । विभिन्न देशबाट कामदार ल्याउने यो कम्पनीले गत वर्षदेखि नेपालका केही म्यानपावरसँग सहकार्य थालेको छ ।
कामदारहरूले तिर्ने रु.१०–१२ लाखबाट मार्जिनले रु.५ लाख लिन्छ । कम्पनीसँग दुई वर्ष काम गर्ने करारनामा गरिए पनि पोर्चुगल आएको पहिलो दुई महीना काममा लगाएर अर्को दुई महीना खाली राखिन्छ । गुनासो गर्दा ‘रेसिडेन्सी कार्ड’ खोसिदिने धम्की दिइन्छ । पोर्चुगलमा यसरी दुःख पाएका कामदारहरू युरोपको रहरमा फँस्नुभन्दा दुबई, कतार, मलेसिया लगायतका मुलुकहरूमा काम गर्दा ठीक हुने सल्लाह दिन्छन् । नेपालका म्यानपावर कम्पनीहरू चाहिं ‘युरोपको रेसिडेन्सी कार्डले जीवनलाई सुखी बनाउने’ विज्ञापन छपाइरहन्छन् । उनीहरूमाथि राज्यको निगरानी पनि छैन ।
(हिमालको २६ जेठ-२ असार अंकबाट आंशिक साभार । हिमालको पूरा रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुस् । )
Comments[ 0 ]
Post a Comment