रक्सीले मातेपछि झगडा हुनु ठूलो कुरा हैन। तर यस्तै झगडामा जोशमा होस गुमाउँदा २१ वर्षका एक नेपाली युवक सात वर्ष बेलायतको जेलमा कोचिने भएका छन्।

झगडा भएको बेला गोर्खालीको शानको रुपमा रहेको नौ इञ्चको खुकुरी नचाएर दुई जना स्थानीयलाई घाइते बनाइदिएका थिए। यही आरोप प्रमाणित गर्दै त्यहाँको अदालतले हितेन्द्र लिम्बुले सात वर्ष जेल सजाय सुनाएको हो। केन्ट न्युज र केन्ट अनलाइनले फोटोसहित यी युवक जेल परेको समाचार दिएको छ।
केन्टन्युजका अनुसार एसफोर्डको हाइस्ट्रिटमा राति अबेर एउटा कबाब पसल बाहिर १९ वर्षका दुई गोरासित हितेन्द्रको भेट भएको थियो। मौखिक झगडामात्रै भएको थियो त्यतबेला। केही मिनेटपछि हितेन्द्रले नेपाली खुकुरी लिएर उनीहरुलाई काटेछन्। एउटाको नाक, छाती र पाखुरामा चोट लाग्यो भने अर्कोको हातमा।
आफ्नो खुकुरी पार्किङ गरी राखेको कारमुनि लुकाउन खोज्दै गर्दा प्रहरीले उसलाई पक्रेको थियो। घाइते बनाएको र हतियार बोकेको अभियोग उनीमाथि लगाइएको थियो।
यो घटना अप्रिलको हो भने अदालतले यही हप्ता सजाय सुनाएको हो। अदालतले घाइते बनाएको र घाइते बनाउने मनसायले आक्रमण गरेको गरी दुई वटा अभियोगमा सजाय सुनाएको हो। घातक हतियार बोकेको अभियोग चाहिँ अदालतको कागजमै मात्र सीमित भयो। न्यायाधीश एडेली विलियम्सले जानाजानी खुकुरी भिर्ने र अरुलाई गम्भीर घाइते बनाउनेले लामो जेल सजाय पाउने बताइन्।
नेपाली र ती गोराबीच के कारणले झगडा भएको चाहिँ खुलाइएको छैन। तर केही बेलायतीहरु त्यहाँका नेपाली आप्रवासीहरुलाई राम्रो नजरले हेर्दैनन्। सांसदले समेत आफ्नो सहरमा पेन्सन पाएका बूढा गोर्खा सैनिकहरु देखेर दिक्क लाग्ने गरेको सार्वजनिक रुपमै बताएका थिए। पार्कमा बस्ने ठाउँसमेत छैन सबै नेपालीहरुले ओगटे भनेर दुखेसो पोखेका थिए उनले हेर्नुस् यहाँ। पेन्सन पाएका पूर्व गोर्खाली सैनिक र उनीहरुको परिवारले आफ्नो सहर भरियो भन्दै इन्टरनेटमा हेट क्याम्पेनसमेत चलेको थियो। नेपालीहरुलाई कसरी समायोजन गर्ने भन्ने विषय टाउको दुखाइ भएको छ त्यहाँको।
कतै यो पनि यस्तै विषयमा सुरु भएको झगडा त थिएन ? कारण जेसुकै होस्, त्यसरी खुकुरीले काट्नु चाहिँ अपराधै हो। र, त्यसो गरेको स्वीकार समेत गरेपछि ऊ स्वतः सजायको भागिदार बनिहाल्छ। न्यायाधीशले फैसला सुनाउने क्रममा त्यसैले यस्तो भनेकी थिइन्- “You got into a verbal and physical confrontation with Charlie Carolan and you and he had to be separated.I sentence you on your basis of plea that you were struck by him but what you did next was very serious indeed.”
यही विषयमा तल सिया राई नामकी एक पाठकले गरेको कमेन्ट पनि विचारणीय छ-
गोराहरुले त्यहाँ बसेका नेपालीहरुलाई कति हेप्छन् भन्ने कुरा त्यहाँ नेपालीहरुलाई मात्र थाहा छ। एकान्तमा पारे भने गोराका टिनेजर्सहरुले गाडीमा आक्रमण गर्ने र गाडी नै फुटाइदिने गर्छन्। त्यहाँ बसाइँसरि गएका ब्रिटिस गोरखाहरुको त्यहाँको सामाजिक सम्मिलनको बारेमा बेलायतमै बसेर पिएचडी गरेका डा.देवी गुरुङले यस बारेमा मलाई केही तथ्यहरु बताएका थिइन्।
एक त गोराहरु सामाजिक प्राणी होइनन्, उनीहरु नेपालीहरुजस्तो आफन्त भेटघाट, पाहुनापात गर्ने र मौका परे दोहोरी खेल्ने जस्तो कुरा तिनलाई पटक्कै मन पर्दैन।
अर्को कुरा तिनले त्यहाँ बसेका गोरखाका परिवारहरुलाई आफ्नो देश बचाइदिने बहादुरका सन्तानको साटो शरणार्थीको दृष्टिले हेर्दछन्। पहिलो र दोस्रो विश्वयुद्धमा ६० हजार भन्दा बढी गोरखा सिपाहीहरुले ब्रिटिसको पक्षबाट ज्यान गुमाएको विभिन्न तथ्याङ्क छ।
जसले गर्दा संसारमा ब्रिटिसको साम्राज्यावाद फैलियो, त्यसैलाई थाङ्ने र माङ्ने भन्ने अनि हेप्ने? नेपालीहरुलाई कम हेपेका छन् र गोराहरुले? स्मरणीय के छ भने उसकै देशको ढाल बनेर लडेका भिसी लछुमन गुरुङको मृत्यु संस्कारको लागि नेपालीहरुले चन्दा उठाएका थिए। उसकै देश बचाउन असाधारण बहादुरी देखाइ भिसी पाएका अर्का तुलबहादुर पुनलाई बेलायतले बेलायतसँग तिम्रो सम्बन्ध राम्रो छैन भन्दै भिसा अस्वीकार गरेको थियो।
त्यसको विरोधमा के–के भयो, तपाईँहरुलाई पनि थाहा छ होला। बेलायती अभिनेत्री जोअना लुम्लेले आफ्नो देश बचाउनेप्रति भएको अन्याय विरुद्ध नेपालसम्मै आएर जनता उरालिन्। लास्टमा आजसम्म कुनै नेपालीले नपाएको सम्मान ‘गार्ड अफ अनर’ दिन बाध्य भयो बेलायत।
मेरो विचारमा खुकुरी नचाउनु दण्डनीय काम हो, तर यसमा गोराहरुको हेपाइ प्रत्युत्पादक भएको हुन सक्छ भन्ने मेरो ठम्याइ छ। (पूरा कमेन्ट तल पढ्नुस्)..
|
|
Comments[ 0 ]
Post a Comment