काठमाडौं,३१ असोज । नयाँ बन्ने संविधानमा आमाको नामबाट समेत नागरिकता पाउनु पर्ने माग राखी दवावमूलक कार्यक्रम आयोजना हुने भएको छ । आमा र बाबु दुबैको नामबाट नागरिकता प्रदान गर्ने प्रावधानले नेपाली बालबालिकाहरु राज्य विहीन भएको अधिकारकर्मीको तर्क छ ।

वंशजको आधारमा नागरिकता प्राप्त गर्न ‘आमा र बाबु’ भन्ने प्रावधानले नागरिकता प्राप्त गर्ने अधिकार सुनिश्चित नभएको भन्दै अधिकारकर्मीहरुले ‘आमा वा बाबु’को प्रस्ताव अघि सारेका हुन् ।
भावी संविधानमा नागरिकता सम्बन्धि प्रस्तावित प्रावधानका सम्बन्धमा राष्ट्रिय महिला आयोग, महिला कानून व्यवसायी सरोकार समिति लगायतका संस्थाहरुद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अधिकारकर्मीहरुले नागरिकता सम्बन्धि नेपालको वर्तमान प्रावधानले आफ्ना सन्तानलाई नागरिकता प्रदान गर्ने महिला र पुरुष दुबैको अधिकार कटौती गरेको जिकिर गरे ।
हाल मुलुकमा जम्मा जनसंख्याको २४ प्रतिशत व्यक्ति राज्यविहीन भएको बताउँदै उनीहरुले आमाको नामबाट समेत नागरिकता प्रदान गरिए नागरिकता सम्बन्धि समस्या समाधानमा सहज हुने जिकिर गरे । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँद ताराले आमाको नामबाट मात्र नागरिकता नदिने वर्तमान प्रावधानले महिलालाई दोश्रो दर्जाको नागरिक ठानेको तर्क गर्नुभयो ।
नागरिकता प्राप्तिको प्रावधानमा ‘र’ होइन ‘वा’ भन्ने अभियान सहित शान्तिपूर्ण दवाव सिर्जनामा लागेका अधिकारकर्मीहरुले आफ्ना माग सम्बोधन नभए संविधान सभा भवन घेर्ने चेतावनी दिएका छन् ।
नेपालको अन्तरिम संविधान २०६३ ले आमा वा बाबुको नाममा वंशजको आधारमा नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरे तापनि नयाँ बन्ने संविधानको नागरिकता सम्बन्धि व्यवस्थाका लागि संविधान सभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले भने ‘आमा र बाबु’ को प्रस्ताव अघि सारेको छ ।
|
|
Comments[ 0 ]
Post a Comment