
धादिङको भुमेस्थानमा छोराले आफ्नै बाबुको हत्या गरेको छ। भुमेस्थान–३ इजाराको सुनारगाउँमा छोरा ध्रुबबहादुर सुनारले आफ्नै बाबु ५५ वर्षका कृष्णबहादुर सुनारको घाँटी रेटी हत्या गरेका हुन् । छोराले बाबुको हत्या गरेपछि ध्रुबकी ५० वर्षकी आमा बृन्दा र २३ वर्षकी बहिनी बट्टाइले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।
विष सेवनबाट गम्भीर भएका आमा छोरीको काठमाडौंको वीर अस्पतालमा उपचार भैरहेको छ । मंगलबार बेलुका घरमा कोही नभएको बेला पारी ध्रुबले बाबुको चक्कुले घाँटी रेटी हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । बाबुको हत्या पछि भाग्दै गरेका ३२ वर्षका ध्रुवलाई गाउँलेको सहयोगमा मंगलबार रातीनै प्रहरीले पक्रेको छ ।बाबुको हत्या आफूले गरेको र हल्ला गरे अरुलाई पनि काटिदिने धम्किदिँदै ध्रुबले केहि बेर घटनास्थल नियन्त्रणमा लिएको गाउँलेले बताए । कोठामा सुतिरेहका कृष्णबहादुरको हत्या भएको देखेपछि परिवारका सदस्यहरुले गाउँलेसँग गुहार मागेका थिए ।
कृष्णबहादुरको घाँटीरेटी हत्या भएको देखेपछि कृष्णबहादुरकी श्रीमती बृन्दा र छोरी बट्टाइले तरकारीमा प्रयोग गर्नका लागि ल्याइएको विषादी सेवन गरेको प्रहरीले जनाएको छ । कृष्णबहादुरको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार दिउँसो दसैँको टिका लगाउन छोरी बट्टाइ श्रीमानसहित माइत आएकी थिइन् । छोरी ज्वाईलाइ टिका लगाई कोठामा सुत्न गएका कृष्णबहादुरलाई घरमा मानिसको चहलपल घटेपछि छोराले चक्कुले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । source:setopati
|
|
Comments[ 0 ]
Post a Comment