सकियो इन्छन महाकुम्भ, नेपाल एक कास्यपदकमै सीमित, चीन पहिलो स्थानमा
Saturday, October 4, 2014
इन्छन, आश्विन १८ । दक्षिण कोरियाको इन्छनमा भएको १७औं एसियाली खेलकुदमा नेपाल एक कास्यपदकमै समेटिएको छ । शनिबार (आज) अन्तिम दिन कराँतेको एकमात्र खेलमा अनु अधिकारीले खेलेसँगै नेपालको सहभागिता केवल एक पदकमा सकिएको हो ।
५० किलो तौल समूहको स्पर्धामा अनुले थाइल्यान्डकी खेलाडीसँग ४-१ को हार बेहोरिन् । नेपालले २५ खेलमा दुई सय बढी खेलाडीले सहभागिता जनाएकामा कराँतेकी विमला तामाङले कास्य जितेर इतिहास आफ्नो नाममा लेखाएकी हुन् ।यसैबीच, ३६ खेलका चार सय ३९ स्पर्धामा भएको इन्छन एसियाडमा पदकका आधारमा चीन सदाझैं अब्बल बनेको छ । चीनले एक सय ५१ स्वर्ण, एक सय ९ रजत र ८३ कास्यका साथ तीन सय ४३ पदक बटुल्दै शीर्ष स्थान ओगट्यो भने आयोजक दक्षिण कोरिया ७९ स्वर्णसहित दोस्रो तथा जापान ४७ स्वर्णका तेस्रो स्थानमा रह्यो ।११ स्वर्णसहित आठौं स्थान ओगटेको भारत दक्षिण एसियाको सर्वाधिक सफल टिम बनेको छ । एक स्वर्णसहित पाँच पदक बटुलेको पाकिस्तान दक्षिण एसियाको दोस्रो तथा एक स्वर्ण र एक कास्य जितेको श्रीलंका तेस्रो सफल टिम बन्यो । बंगलादेशले एक रजत र दुई कास्य तथा अफगानिस्तानले एक रजत र एक कास्य जिते ।
दक्षिण एसियाका भुटान र माल्दिभ्ससहित आठ देश भने रित्तो हात घर फर्कंदैछन् ।साँझ विशेष समारोहकाबीच मुन्हक मुख्य रंगशालामा इन्छन एसियाडको समापन भएको छ । ‘विविधता झल्कन्छ यहाँ’ नारा दिएर सुरु भएको इन्छन एसियाडको समापन १८औं एसियाडको आयोजक देश इन्डोनेसियालाई झन्डा हस्तान्तरण गरेसँगै सकिएको हो । १८औं एसियाड जाकर्तामा हुनेछ ।
Tags:
Sports
Comments[ 0 ]
Post a Comment